पाल्पा । तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै गाउँपालिकाको समग्र प्रशासनिक कार्यलाई थप व्यवस्थित, पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउने उद्देश्यले तहगत रूपमा कार्यसम्पादन सम्झौता गरेको छ।
गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूबीच कार्यसम्पादन सम्झौता गरिएको हो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत सारूले गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा शाखागत कर्मचारीहरूसँग समेत आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअनुसार कार्यसम्पादन सम्झौता गरिएको छ।
गाउँपालिकाले अध्यक्षसँग प्रमुख प्रशासकीय अधिकृत र प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुख तथा कर्मचारीबीच कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था गरी कार्यालयभित्र जिम्मेवारीको स्पष्टता, तहगत उत्तरदायित्व र कार्यसम्पादनको मूल्याङ्कनलाई संस्थागत गर्न खोजेको हो। यसबाट गाउँपालिकाको नेतृत्वदेखि शाखागत तहसम्म प्रत्येक जिम्मेवार पदाधिकारी तथा कर्मचारीले आफूले सम्पादन गर्नुपर्ने कामप्रति प्रत्यक्ष जवाफदेही हुने अपेक्षा गरिएको छ।
कार्यसम्पादन सम्झौतामा सम्बन्धित पदाधिकारी तथा कर्मचारीको पदअनुसार काम, कर्तव्य, अधिकार र उत्तरदायित्व स्पष्ट रूपमा निर्धारण गरिएको छ। तोकिएको जिम्मेवारी निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने, गाउँपालिकाका नीति, योजना, कार्यक्रम तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्ने र सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने विषयलाई सम्झौतामा प्राथमिकता दिइएको छ। विशेषगरी राजस्व शाखासँग सम्बन्धित कार्यसम्पादन सम्झौतामा राजस्वसम्बन्धी नीति, कानुनको कार्यान्वयन तथा नियमन गर्ने, राजस्व दायरामा पर्ने क्षेत्रको पहिचान तथा तथ्याङ्क संकलन र विश्लेषण गर्ने तथा करदाताको अभिलेख व्यवस्थित गर्ने विषय समावेश गरिएको छ।
त्यसैगरी आफ्नो क्षेत्रभित्र राजस्वका दर तथा शुल्क निर्धारण गर्ने, प्रचलित संघीय तथा प्रदेश कानुनबमोजिम प्राकृतिक स्रोतसाधन तथा सेवा शुल्कबाट प्राप्त हुने रोयल्टी संकलन गर्ने, स्थानीय पूर्वाधार सेवा तथा उपयोगमा लाग्ने शुल्क तथा दस्तुर असुली गर्ने तथा मालपोत र सम्पत्ति कर संकलनलाई प्रभावकारी बनाउने व्यवस्था गरिएको छ।
कानुनबमोजिम दण्ड तथा जरिवाना असुल गर्ने, ढुंगा, गिट्टी, बालुवा तथा दहत्तर–बहत्तरसम्बन्धी आय संकलनमा आवश्यक कार्य गर्ने, राजस्व परामर्श समितिलाई आवश्यक सूचना उपलब्ध गराउने तथा सचिवालयसम्बन्धी कार्य गर्ने जिम्मेवारीसमेत निर्धारण गरिएको छ।
राजस्व संकलनलाई प्रभावकारी बनाउन प्रवर्द्धनात्मक उपाय अवलम्बन गर्ने, व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी आवश्यक कार्य गर्ने तथा राजस्व संकलनसम्बन्धी SUTRA REVENUE मोड्युलको प्रभावकारी सञ्चालन र व्यवस्थापन गरी विवरण अद्यावधिक गर्ने विषयलाई समेत प्राथमिकतामा राखिएको छ।
सम्बन्धित शाखा तथा निकायसँग राजस्वसम्बन्धी सूचना तथा तथ्याङ्कको आदान–प्रदान गर्ने, बक्यौता तथा बाँकी बक्यौता रकमको लगत तयार गरी असुलउपर गर्ने तथा करदाता शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था पनि कार्यसम्पादन सम्झौतामा समावेश गरिएको छ। विभिन्न क्षेत्र तथा विषयका शुल्क, दस्तुर तथा रोयल्टी संकलन गर्ने र राजस्वको मासिक तथा वार्षिक प्रगति विवरण तयार गर्ने जिम्मेवारीसमेत तोकिएको छ।
गाउँपालिका तथा वडा कार्यालयबाट हुने राजस्व संकलनलाई सरल र पारदर्शी बनाउने, संकलित राजस्व समयमै बैंक दाखिला गराउने तथा राजस्व चुहावट हुन नदिन नियमित अनुगमन र नियन्त्रण गर्ने विषयलाई समेत कार्यसम्पादनको महत्वपूर्ण आधार बनाइएको छ।
यसैगरी गाउँपालिकाको आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा वार्षिक नीति, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्ने, आफ्नो शाखासँग सम्बन्धित सम्पूर्ण फाइल तथा कागजात सुरक्षित राख्ने र महत्वपूर्ण कागजातलाई विद्युतीय माध्यमबाट समेत सुरक्षित राख्ने व्यवस्था गरिएको छ।
सम्बन्धित शाखाले वार्षिक कार्यान्वयन कार्ययोजना तयार गरी पेश गर्ने, मासिक, चौमासिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा आफूले सम्पादन गरेका कार्यहरू निर्धारित समयसीमाभित्र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन (LGPAS) प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था समेत कार्यसम्पादन सम्झौतामा समेटिएको छ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतबाट अधिकार प्रत्यायोजन भएअनुसार सम्बन्धित शाखा प्रमुख तथा कर्मचारीले आफ्नो जिम्मेवारीअन्तर्गतका कार्य सम्पादन गर्ने, आवश्यक समन्वय गर्ने तथा कार्यसम्पादनको प्रगति नियमित रूपमा सम्बन्धित अधिकारीसमक्ष पेश गर्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कार्यसम्पादन सम्झौताले कर्मचारीको जिम्मेवारीलाई स्पष्ट बनाउनुका साथै गाउँपालिकाले अघि सारेका नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले सम्झौता केवल कागजी प्रक्रिया नभई जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहमा सुधार ल्याउने माध्यम बन्नुपर्नेमा जोड दिएका छन्।
प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूले कार्यसम्पादन सम्झौताले कार्यालयको प्रत्येक तहलाई जिम्मेवार र उत्तरदायी बनाउने बताउँदै शाखागत रूपमा तोकिएका काम समयमै सम्पन्न गर्ने, नियमित प्रगति विवरण पेश गर्ने तथा सेवाग्राहीलाई सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्न कर्मचारीलाई परिचालन गरिने बताए।
गाउँपालिकाले कार्यसम्पादन सम्झौतापछि जिम्मेवारीअनुसारको कार्यसम्पादन, समयसीमाभित्र परिणाम, नियमित अनुगमन र मूल्याङ्कनलाई प्राथमिकतामा राख्ने जनाएको छ। कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारीको प्रगति नियमित रूपमा समीक्षा गरी आवश्यक सुधार तथा सहजीकरण गरिने गाउँपालिकाको भनाइ छ।
अध्यक्षबाट प्रमुख प्रशासकीय अधिकृत हुँदै शाखा प्रमुख तथा शाखागत कर्मचारीसम्म जिम्मेवारी र उत्तरदायित्व स्पष्ट हुने गरी गरिएको कार्यसम्पादन सम्झौताले गाउँपालिकाको प्रशासनिक प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। यसबाट कार्यालयको काममा दोहोरोपन घट्ने, जिम्मेवारी पन्छाउने प्रवृत्तिमा कमी आउने, शाखाबीच समन्वय बढ्ने तथा नागरिकले प्राप्त गर्ने सार्वजनिक सेवाको गुणस्तरमा सुधार आउने विश्वास गाउँपालिकाले लिएको छ।
‘जिम्मेवारी स्पष्ट, कार्यसम्पादन मापनयोग्य र सेवा प्रवाह परिणाममुखी’ बनाउने उद्देश्यसहित गरिएको यस पहललाई तिनाउ गाउँपालिकाको प्रशासनिक सुधार तथा सुशासन प्रवर्द्धनतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।


















