काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन् ।
नयाँ व्यवस्थाअनुसार मन्त्री रावलले अब देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहको अवस्था प्रत्यक्ष रूपमा अनुगमन गर्न सक्ने छिन्। डिजिटल प्रणालीमार्फत प्राप्त हुने विवरणका आधारमा सेवा प्रवाहमा देखिने अवरोध, ढिलासुस्ती तथा प्राविधिक समस्याबारे तत्काल जानकारी लिन र आवश्यक निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ।



मन्त्रालयका अनुसार यस प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। साथै, मालपोत कार्यालयहरूमा हुने अनियमितता र ढिलासुस्ती नियन्त्रण गर्न पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
सरकारले डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियानलाई थप तीव्र बनाइरहेको बताइएको छ।














