बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लामो समयदेखि प्रतिक्षित एमआरआई मेशिन जडानको काम सुरु भएको छ । अस्पतालमा एमआरआई मेशिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयरले मेशिन जडानको कामलाई धमाधम अघि बढाएको छ ।
अस्पतालमा यही कार्तिक १७ गतेदेखि मेशिन जडानको काम सुरु भएको हो । आगामी मंसिरको अन्तिमसम्म जडानको सम्पूर्ण काम सक्ने लक्ष्यसहित तिब्रताकासाथ काम भैरहेको निर्यातकर्ता कम्पनी लुम्बिनी हेल्थ केयरका इन्जिनीयर राजु चौधरीले जानकारी दिए । ‘यही कार्तिक १० गते मेशिन झारिए पनि चाइनाबाट प्राविधिक टोली आउन ढिका गरेका कारण एकसातापछि जडानको काम सुरु गरेका छौं ।’–चौधरीले भने, ‘अहिले चाइनाका दुई जना प्राविधिक टोलीको निगकारीनामा जडानको काम धमाधम भैरहेको छ ।’ हालसम्म आरएफ क्याविनेटतर्फ करिब ८० प्रतिशत तथा टेक्निकल रुममा पनि सोही अनुपातका काम सम्पन्न भएको इन्जिनीयर चौधरीले बताए । यसैगरी अब्जरभेसन रुम (कन्सल रुम)को काम पनि अघि बढेको उनले जानकारी दिए । मेशिन जडानका लागि प्राविधिकहरु दैनिक १२ घण्टा खटिने गरेको इन्जिनीयर चौधरीले बताए ।



लुम्बिनी प्रदेशकै ठूलो यस अस्पतालमा थप उपकरणहरु जडान तथा सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल बिकास समितिले पहल गर्दै आएको अध्यक्ष अजयमान श्रेष्ठले बताए । सेवाग्राहीको बढ्दो चाँप र जनअपेक्षालाई पूरा गर्नका लागि सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिने उनले बताए ।
सेवालाई विशिष्टिकृत गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पतालले उपकरणहरु थप गर्नुका सेवा सरलीकरणलाई समेत जोड दिएको छ । अस्पतालमा एमआरआई मेशिन जडानसँगै नयाँ सिटीस्क्यान मेशिन गरिदका लागि प्रक्रिया अगाडि बढाउन लागिएको मेसु ढकालले जानकारी दिएका छन् । हाल अस्पतालमा रहेको मेशिन पुरानो र बारम्बार विग्रिने समस्या भएकाले संघीय सकारको आर्थिक लगानीमा नयाँ मेशिन खरिद प्रक्रिया अघि बढाउन लागिएको उनले बताए ।
अस्पतालमा हाल रहेको ७ वर्ष पुरानो १६ स्लाइसको मेशिनको ठाउँमा १२८ स्लाइसको कार्डियाक्ससिटी जडान गर्न लागिएको उनले जानकारु दिए । यो मेशिन जडान भएको अवस्थामा मुटुको स्क्यान पनि गर्न सकिने भएकाले उपचारमा थप गुणस्तर र सहज हुने अपेक्षा व्यक्त गरे ।














