रुपन्देही। संघीय शासन प्रणालीको मर्मअनुसार राज्यका सेवा र अधिकार नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यसहित सियारी गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविर स्थानीयवासीका लागि उपयोगी र प्रभावकारी बनेको छ। पालिका केन्द्रसम्म पुग्न नसक्ने वा झन्झटिलो प्रक्रियाका कारण सेवाबाट वञ्चित हुँदै आएका नागरिकलाई लक्षित गर्दै गाउँमै सेवा प्रदान गरिएको हो।
घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, सामाजिक सुरक्षा भत्ता सम्बन्धी जानकारी, अपाङ्गता परिचयपत्र, स्वास्थ्य परीक्षण, आयुर्वेद तथा सामान्य स्वास्थ्य परामर्श, कृषि र पशु सेवासम्बन्धी जानकारी, रोजगारीका अवसर तथा सरकारी सेवा–सुविधाबारे जानकारी प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।



गाउँपालिका अध्यक्षले संघीयताको वास्तविक अनुभूति तब मात्र हुने उल्लेख गर्दै राज्यका सेवा नागरिकको दैलोमा पुग्नु आवश्यक रहेको बताए। सिंहदरबारमा सीमित सेवा अब गाउँमै ल्याउनुपर्छ भन्ने सोचका साथ घुम्ती शिविर सञ्चालन गरिएको हो, उनले भने,नागरिकको समय, श्रम र खर्च जोगाउनु नै हाम्रो प्राथमिकता हो।
स्थानीयवासीले गाउँमै आएर सेवा पाउँदा निकै सहज भएको प्रतिक्रिया दिएका छन्। लामो दूरी हिँड्नुपर्ने बाध्यता हटेको, पालिका कार्यालय धाउनुपर्ने झन्झट कम भएको र आफ्ना कुरा जनप्रतिनिधिसम्म प्रत्यक्ष राख्न पाएको उनीहरूको भनाइ छ। विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र आर्थिक रूपमा कमजोर वर्गका लागि शिविर उपयोगी भएको बताइएको छ।सियारी गाउँपालिकाले आगामी दिनमा समेत वडास्तरमै घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने जनाएको छ। यस किसिमका कार्यक्रमले स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउँदै सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।














