
पाल्पा, २५ असोज – डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेड, तिनाउ–६ पाल्पाको ३२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा कृषक सदस्यहरूलाई लगानीको १५ प्रतिशत लाभांश वितरण गरिएको छ। कृषकहरूले वार्षिक रूपमा १ हजारदेखि ५५ हजार रुपैयाँसम्मको लाभांश पाएका छन्। लाभांश वितरण कार्यक्रममा कृषकहरूलाई फूलमालासहित सम्मान गरिएको थियो।
संस्थामा हाल ५ सय कृषक सदस्य आवद्ध छन्, जसमा १६४ महिला र २२३ पुरुष सदस्य रहेका छन्। गत आर्थिक वर्ष २०८१/०८२ मा संस्थाले ९ लाख ४६ हजार ७३० लिटर दूधको कारोबार गर्दै ३४ करोड १३ लाख ८८ हजार रुपैयाँ बराबरको कुल कारोबार गरेको थियो। संस्थाको संस्थागत पूँजी ५ करोड १९ लाख रुपैयाँ, जगेडा कोष ७८ लाख रुपैयाँ, शेयर पूँजी ५३ लाख रुपैयाँ र अन्य कोष ८ लाख रुपैयाँ रहेको छ।



सहकारीले कृषकहरूलाई घाँसको बीउ, दाना, ब्रान, पशु औषधी, भिटामिन, बीउ बिजन लगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। नयाँ गाईभैसी खरिद गर्दा निशुल्क धुवानी सेवा र सुत्केरी पोषणमा प्रति पशु १,२०० रुपैयाँ वितरण गरिएको छ।
सञ्चालनमा रहेका डेरीहरू तानसेन, मिशन र डुम्रेमा रहेको हुँदा वर्षायाममा अत्यधिक दूध उत्पादन हुने भएकाले आगामी दिनमा बुटवलमा नयाँ डेरी, मिठाई, चिया, लस्सी तथा दूधजन्य परिकार बिक्री पसल र छुर्पी उत्पादन गर्ने योजना रहेको जानकारी सहकारीले साधारणसभामा दिएको छ।
संस्थाले मुक्तिनाथ विकास बैंकबाट २ करोड रुपैयाँ ऋण लिएर कृषकलाई सहुलियत दरमा लगानी गर्दै आएको छ। आवद्ध कृषकहरूको ४ लाख रुपैयाँ बराबरको निशुल्क पशु बीमा गरिएको छ, जसबाट कृषकहरूले वार्षिक ४० लाख रुपैयाँभन्दा बढीको क्षतिपूर्ति पाएका छन्।
हेफर नेपालको सहकार्यमा दैनिक ३५ लिटरसम्म दूध दिने गाईको सिमेन कोरिया बाट ल्याएर पाल्पाका गाईबाट १० वटा बाच्छी उत्पादन भइसकेको छ। संस्थामा आवद्ध कृषकहरूको गाईमा नश्ल सुधार गर्दै मिल्क फिबर रोगले हुने मृत्युलाई कम गर्न काउ लिफ्ट खरिद गरी समस्या समाधान गर्ने योजना रहेको छ।
संस्थाले दैनिक ३–४ हजार लिटर दूध खरिद–बिक्री गर्दै आएको छ। यसका साथै कृषकका १६ जना छोरा–छोरीलाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ। सहकारी अध्यक्ष दुर्गा बहादुर खाण ठकुरीले, तानसेन, रिव्दीकोट, तिनाउ, माथागढी, बगनासकाली लगायतका कृषकहरूलाई संस्थामा आवद्ध हुन अनुरोध गरे।
साधारणसभामा तिनाउँ–६ का वडा अध्यक्ष टोम बहादुर पुनले सहकारीलाई नेपालकै नमुना दुग्ध उत्पादन संस्था मानेर यसको उत्पादन र गुणस्तर उच्च रहेको बताए। गाउँपालिकाले आवद्ध कृषकहरूलाई ५ लाख ९८ हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराएको जानकारी पनि उनले दिए।
जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामजी घिमिरे, शेयर सदस्य रामप्रसाद पोखरेल र सिता जिसीले सहकारीको योगदानको चर्चा गर्दै क्षेत्र विस्तार, दुधको विविधिकरण र गुणस्तरीय उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए।
साधारणसभामा अध्यक्ष, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन प्रस्तुत गरिएकाे थीयाे र सर्वसम्मतिले पास भएको छ। स साथै आगामी वर्षका नीति–कार्यक्रमहरू पनि प्रस्तुत गरिएको छ।
साधारणसभा अध्यक्ष दुर्गा बहादुर खाण ठकुरीको अध्यक्षतामा, स्वागत उपाध्यक्ष शंकर प्रसाद भण्डारीको सञ्चालनमा र व्यवस्थापक गोपाल जिसीको व्यवस्थापनमा सम्पन्न भएको थियो।