पाल्पा, रिब्दीकोट गाउँपालिकाको आयोजनामा सञ्चालन भइरहेको “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गतको “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” को दोस्रो चरण आज वडा नं. १ स्थित शारदा माध्यमिक विद्यालयमा सञ्चालन हुने भएको छ। कार्यक्रम बिहान ठीक १० बजेदेखि सुरु हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तरीय विकास, विद्यार्थीको सर्वाङ्गीण क्षमता अभिवृद्धि तथा विद्यालय, अभिभावक र समुदायबीचको सम्बन्धलाई अझ प्रभावकारी, जिम्मेवार र समन्वयात्मक बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यसअघि वडा नं. ४ स्थित भैरव जनता माध्यमिक विद्यालयबाट कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको थियो।



गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेष भुषालले आज हुने कार्यक्रममा सम्बन्धित विद्यालयका अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, विद्यार्थी तथा सरोकारवालाहरूलाई समयमै उपस्थित हुन आग्रह गर्नुभएको छ। उहाँका अनुसार कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको छ भने कार्यक्रम सफल बनाउन आवश्यक व्यवस्थापन तथा समन्वय कार्य सम्पन्न गरिएको छ।
कार्यक्रममा अभिभावकको भूमिका, बालमैत्री व्यवहार, सकारात्मक सोच, बालमनोविज्ञान, अध्ययनप्रति प्रेरणा, अनुशासन, नैतिक शिक्षा तथा जिम्मेवार अभिभावकत्व सम्बन्धी विषयमा अन्तरक्रियात्मक छलफल गरिनेछ। साथै विद्यालय सुधार, बालबालिकाको सिकाइ उपलब्धि वृद्धि तथा सामुदायिक विद्यालयप्रतिको विश्वास अभिवृद्धिका विषयमा पनि व्यापक छलफल हुने जनाइएको छ।
गाउँपालिकाले “असल अभिभावकबाटै असल विद्यार्थी र सभ्य समाज निर्माण सम्भव हुने” विश्वासका साथ सबै वडामा कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ। यस्ता चेतनामूलक तथा सहभागितामूलक कार्यक्रमले विद्यालय, अभिभावक र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै शिक्षा क्षेत्रको गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अनुसार “उपाध्यक्षसँग विद्यालय कार्यक्रम” अन्तर्गत सञ्चालन भइरहेको “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” आगामी जेठ ४ गतेसम्म गाउँपालिकाका सबै वडामा सञ्चालन गरिनेछ।















