काठमाडौँ । नेपाल टेलिकमले चाडपर्वलाई लक्षित गरी दशैँ-तिहार-छठ अफर ल्याएको छ । अफर अन्तर्गत फाइबर टु द होम (एफटीटीएच) प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डेटा प्याकेज ल्याइएको हो ।
सोमबारदेखि नै उपलब्ध हुन थालेको अफर अन्तर्गत ३१ असोजसम्म नयाँ एफटीटीएच जडान गर्ने ग्राहकहरूलाई टेलिकमले पाँच सय रुपैयाँ पर्ने जडान शुल्क मिनाहा गरेको छ । दशैँ-तिहार-छठ अफर अन्तर्गत जीएसएम ग्राहकलाई ४९९ रुपैयाँमा पाँच जीबी फेस्टिभल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिभल अनलिमिटेड प्रिमियम डेटा प्याक रहेको छ ।



फेस्टिभल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर युजेज पोलिसी (एफयूपी) मा तोकिएको पाँच जीबी डेटा भोलुम खपत भएपछि बाँकी समयावधि दुई एमबीपीएस गतिमा पाउने छन् । यस्तै, फेस्टिभल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन एफयूपीमा तोकिएको १० जीबी डेटा भोलुम खपत गरेपछि बाँकी समयावधि तीन एमबीपीएस गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ ।
साथै २५० रुपैयाँमा १००० मिनेट अल-नेट भ्वाइस सुविधासहितको जोयफुल मिनेट्स र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ मेसेज प्याकेज समेत उपलब्ध छ । यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।
जीएसएम सेवाका प्याकेज ६-२० असोजसम्म र १-१० कात्तिकसम्म किन्ने ग्राहकहरूका लागि लागु हुने टेलिकमले जनाएको छ । मोबाइलबाट *१४१५*११# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिनेछ ।














