पाल्पा, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले शिक्षामा गरिएको लगानीको प्रतिफल प्रत्यक्ष रूपमा देखिनुपर्ने बताउनुभएको छ। तिनाउ गाउँपालिकाको आयोजना तथा नवकिरण नेपाल पाल्पाको सहजीकरणमा वडा नं. १ कचलमा आयोजित “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले शिक्षा क्षेत्रमा गाउँपालिकाले उल्लेखनीय लगानी गरिरहेको भए पनि त्यसको सकारात्मक नतिजा हासिल गर्न सबै सरोकारवालाको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।
उहाँले आधुनिक, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै विद्यालय, शिक्षक, अभिभावक र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष श्रेष्ठले आफ्ना बालबालिकाको भविष्य निर्माणमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण रहने भएकाले अभिभावकहरू थप जिम्मेवार, सचेत र विद्यालयसँग नजिक हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।



शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढीकरण तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। तिनाउ गाउँपालिकाले शिक्षा क्षेत्रको गुणस्तर सुधार, विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा विद्यार्थीको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ सञ्चालन गरेको “अभिभावक शिक्षा तथा असल अभिभावक कला कार्यक्रम” को पहिलो चरण वडा नं. १ कचलमा सम्पन्न भएको हो ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा सञ्चालन गरिएको अभिभावक शिक्षा प्रशिक्षण सत्रमा अगानिक एजुकेशनका प्रमुख तथा शिक्षण–सिकाइ अभियन्ता अर्जुन भट्टले सहजीकरण गर्नुभएको थियो। उहाँले गुणस्तरीय शिक्षा प्रवर्द्धन, विद्यालय सुधार, सिकाइ उपलब्धि वृद्धि तथा शिक्षा क्षेत्रको समग्र विकासमा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र समुदायको साझा भूमिकाबारे विस्तृत प्रस्तुतीकरण गर्नुभयो।
प्रशिक्षक भट्टले शिक्षा सुधार केवल विद्यालय वा शिक्षकको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै अभिभावकको सक्रियता, समुदायको सहयोग तथा स्थानीय सरकारको प्रतिबद्धताले मात्र अपेक्षित परिणाम प्राप्त गर्न सकिने बताउनुभयो। उहाँले बालबालिकाको अध्ययन, अनुशासन, नैतिक विकास, व्यवहार निर्माण तथा भविष्यप्रतिको जिम्मेवारीबोध विकासमा अभिभावकको भूमिका निर्णायक हुने धारणा राख्नुभयो।
प्रशिक्षणका क्रममा अभिभावकहरूले आफ्ना बालबालिकाको नियमित अध्ययनको अनुगमन गर्ने, विद्यालयसँग निरन्तर सम्पर्क राख्ने, अभिभावक बैठकमा सहभागी हुने तथा घरमै सिकाइमैत्री वातावरण सिर्जना गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै विद्यार्थीको जिम्मेवारी, शिक्षकको पेशागत उत्तरदायित्व, विद्यालय व्यवस्थापन समितिको भूमिका तथा समुदायको शैक्षिक दायित्वबारे समेत सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।
सहभागीहरूको सक्रिय सहभागिता रहेको प्रशिक्षणमा उदाहरण, समूह छलफल, प्रश्नोत्तर तथा अनुभव आदानप्रदानमार्फत विषयवस्तुलाई व्यवहारिक र प्रभावकारी बनाइएको थियो। बिहान ११:३० बजेदेखि सुरु भएको प्रशिक्षण करिब चार घण्टासम्म सञ्चालन भई दिउँसो ३:३० बजे सम्पन्न भएको थियो।
प्रशिक्षणपछि आयोजित औपचारिक कार्यक्रममा युवा वर्ष माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरज कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै तिनाउ गाउँपालिकाले शिक्षा सुधारका लागि थालेको यो अभियान समयसापेक्ष र प्रभावकारी रहेको बताउनुभयो। उहाँले विद्यालयको गुणस्तर सुधारमा शिक्षकको मात्र नभई अभिभावक र समुदायको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्त रास्कोटीले प्रशिक्षणबाट प्राप्त सिकाइलाई व्यवहारमा लागू गर्न सके विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले अभिभावकको जिम्मेवारीबोध बढाउन तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न यस्ता कार्यक्रम अत्यन्त उपयोगी रहेको धारणा राख्नुभयो।
विशेष अतिथि तथा गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले तिनाउ गाउँपालिकाले शिक्षा क्षेत्रमा जिल्लामै उल्लेखनीय लगानी गरिरहेको भए पनि त्यसअनुसारको नतिजा प्राप्त हुन नसकेको उल्लेख गर्दै अब सबै सरोकारवाला आ–आफ्नो जिम्मेवारीप्रति जवाफदेही बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले शिक्षा सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम अन्तर्गत आयोजित अन्तरक्रिया सत्रमा सहभागीहरूले शिक्षा सुधार सम्बन्धी आफ्ना अनुभव, सुझाव तथा जिज्ञासाहरू राखेका थिए। विद्यार्थी हेमन्त पुनले विद्यालय सुधारमा अभिभावकहरूको नियमित सहभागिता आवश्यक रहेको बताउनुभयो भने अभिभावक मिना छहरीले विद्यालयको अवस्था सुधार गर्न अभिभावकहरू स्वयं पनि सक्रिय बन्नुपर्ने धारणा राख्नुभयो। शिक्षक कर्णबहादुर उचाईले कार्यक्रमले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई थप मजबुत बनाएको बताउँदै सिकेका विषयहरू व्यवहारमा लागू गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रम वडा नं. १ का वडा अध्यक्ष भुवनसिंह चिदीको अध्यक्षता, गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष लालबहादुर थापाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन नवकिरण नेपाल पाल्पाका प्रमुख दिपक भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा कुल १७० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।




















