पाल्पा । माथागढी गाउँपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चालु आर्थिक वर्षमा जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा पहिले माथागढी गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरेको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले शुभारम्भ गर्दै स्थानीय तहको कार्यहरुलाई गतिशील बनाउन खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले स्थानीयस्तरमा सक्षम जनशक्ति उत्पादनमा सहयोग गर्ने भएकोले खेल क्षेत्रको विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । गाउँपालिका स्तरमा रहेका खेलमैदानको स्तरोन्नति गर्दै सदरमुकाम केन्द्रित खेल प्रतियोगितालाई ग्रामीण क्षेत्रमा आयोजन गर्न आफ्नो पहल मन्त्री सारुको भनाइ थियो । उहाँले माडी क्षेत्रलाई समेटेर उच्चस्तरको खेल मैदान निर्माणका लागि दीर्घकालीन योजना बनाएर काम गर्दा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।



प्रतियोगितामा छात्राछात्रबीच एथलेक्टिक्स, भलिबल, कबड्डी लगायतका खेलमा प्रतिष्पर्धा हुनेछ । गाउँपालिकाको प्रतियोगितामा प्रथम हुने खेलाडी र समूह जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी हुनेछन् । सराई खेलमैदानमा तीन दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न विधाका खेलकुदहरुमा स्वर्ण, रजत र काष्य पदकका लागि प्रतिस्पर्धा हुने छ । जसका लागि गाउँपालिका भित्रका १८ विद्यालयका विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले खेलकुदले शारीरिक तथा मानसिक रुपमा सक्षम बनाउने भएकोले यस क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी खेलाडीलाई प्रतिस्पर्धा स्वच्छ र लगनशील भएर गर्न आग्रह गर्दै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले पछिल्लो समय स्थानीय तहमा खेलकुदका गतिविधि बढ्नु आफैमा राम्रो काम भएको बताउनुभयो । उहाँले खेलकुदबाटै भविष्य सुनिश्चित हुने वातावरण निर्माण गरेर खेलाडीलाई प्रोत्साहनका कार्यक्रम स्थानीय सरकारले सञ्चालन गरिरहेको बताउनुभयो । खेल क्षेत्रको विकासका लागि विद्यार्थीलाई सानै उमेर देखि प्रोत्साहन गर्ने उद्देश्यले व्यवस्थित तरिकाले गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको अध्यक्ष चिदीले बताउनुभयो । उहाँले यसवर्ष थप व्यवस्थापनका साथ गाउँपालिका स्तरीय प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुमाया लुङ्चे, वडाध्यक्षहरु राजकुमार पन्थी, तेज बहादुर घर्तीमगर, नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष विजयकुमार बौडेल, दिव्यज्योती माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक लोकेन्द्र थापालगायतले खेलकुदमा अनुसाशन अत्यन्त महत्वपूर्ण रहने बताउँदै जिल्ला र प्रदेशस्तरको रनिङ शिल्ड जित्नेगरी क्षमता प्रदर्शन गर्नुपर्नेमा जोड दिनुभयो ।














