पाल्पा — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज एक विशेष समारोहबीच सुरु भएको छ। प्रतियोगिता वडा नं। २ स्थित कोहल खेलमैदानमा सुरु भएको हो ।
प्रतियोगिताको औपचारिक उद्घाटन गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नुभएको हो ।अध्यक्ष कार्कीले आजको दिन रिब्दीकोटका लागि ऐतिहासिक दिनका रूपमा उल्लेख गर्दै खेलकुदप्रतिको आफ्नै प्रतिवद्धता र पालिकाले निरन्तर गर्दै आएको लगानीबारे विस्तृत रूपमा चर्चा गर्नुभयो।



उद्घाटन समारोहमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना दिदै,खेलकुद क्षेत्र राजनीतिक स्वार्थभन्दा पर रहेको बताए पालिकाको खेलकुद अभियानले सामाजिक एकता, सौहार्द र समुदायबीचको सम्बन्ध बलियो बनाउनेमा विश्वास व्यक्त गरे। साथै खेलकुदले गाउँपालिकाको समग्र छवि, पहिचान र सम्भावनालाई बाहिर ल्याउने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे।
कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिकाका खेलकुद विकास समितिका अध्यक्ष झपेन्द्र पचभैयाँ ९दिपक०ले प्रतियोगिताले विद्यार्थी तथा युवामा अनुशासन, सहयोग र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले समितिले विगत देखिनै खेलकुद र पूर्वाधार सुधार, विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन तथा प्रतिभावान खेलाडीको पहिचानमा निरन्तर काम गर्दै आएको जानकारी दिनुभयो। पचभैयाँले आगामी दिनमा पनि खेलकुदलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउँदै युवालाई आवश्यक अवसर र प्रोत्साहन दिन समितिले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जि।सी।ले विगतमा सुरु गरिएको रनिङ शिल्ड प्रतियोगिता आज सातौँ संस्करणमा आइपुगेकोमा खुशी व्यक्त गर्दै यस कार्यक्रमले गाउँपालिकाको पहिचान, गरिमा र गौरव बढाउन ठूलो योगदान दिएको बताउनुभयो।साथै उहाँले खेलकुद क्षेत्रलाई अझ व्यवस्थित, दिगो र प्रभावकारी बनाउन भविष्यमा सबै तहबाट सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धा, आपसी मैत्री सम्बन्ध र नेतृत्व क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। रिब्दीकोट गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खेलकुदलाई योजनाबद्ध रूपमा एकै संरचना भित्र ल्याउँदै स्थानिय शासन सञ्चालन ऐन, २०७४ तथा देशका अन्य सम्बद्ध नीतिहरूले तोकेको दायरा भित्र रहेर खेल अघि बढाइरहेको कानुनी प्रावधान, कार्यविधि र पारदर्शी प्रशासनिक प्रक्रियाअनुसार सञ्चालन गरिएको भन्दै पालिकाले वर्षेनी बजेट, योजना तथा प्रतिवेदनहरूमा खेलकुदलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै अगाडी लैजाने कुरामा जोड दिनुभयो ।
शुभकामना मन्तव्य दिदै उपाध्यक्ष कान्ता अधिकारीले खेलकुदलाई विद्यार्थीको समग्र विकाससँग जोड्दै पालिकाले खेलकुद कार्यक्रमहरूलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको बताउनुभयो। उहाँले खेलकुद केवल मनोरञ्जनका लागि नभई विद्यार्थीको मानसिक, बौद्धिक र सामाजिक विकासको आधार भएको उल्लेख गर्नुभयो साथै पालिकाले निरन्तर दिने सहयोग आगामी दिनमा अझ विस्तारिने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले खेलकुदले युवामा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र सकारात्मक विकास गराउने भएकाले पालिकाले थप प्राथमिक क्षेत्रमा राख्दै निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। रिब्दीकोटका युवा, उनीहरूको ऊर्जा र उनीहरूको सम्भावना नै सबैभन्दा ठूलो पूँजी रहेको बताउदै उनीहरूको प्रतिभा पहिचान, विकास र उचाइमा पुर्याउन पालिकाले विगत वर्षहरूमा गरेको लगानी आजको यो प्रतिस्पर्धात्मक कार्यक्रम र यस मैदानको पुनर्जीवनले झनै अर्थपूर्ण बनेको छ बताउनुभयो।
उद्घाटन समारोहमा अध्यक्ष कार्कीले नवनिर्मित नयाँ कोहल खेलमैदानको उद्घाटनको गदै भन्नुभयो मैदान निर्माण गर्नु कुनै सहज काम थिएन धेरै मेहनत, योजना र निरन्तर प्रयासपछि मात्र हामी यो मैदान बनाउनेमा सफल भएका छौं। यो प्रयासमा पालिकाका कर्मचारी, शिक्षक, खेलकुद समितिका सदस्य र स्थानीय समुदायले योगदान पुर्याएका छन्, जसले गर्दा यो उपलब्धि सम्भव भएको भन्दै सबैलाई धन्यवाद समेत दिनुभयो ।
उद्घाटन कार्यक्रमका कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू,पालिकाका कर्मचारीहरु, युवा तथा खेलकुद विकास समितिका पदाधिकारी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, पूर्व जनप्रतिनिधि तथा समाजसेवीहरूको विशेष उपस्थिति रहेको थियो।
रिब्दीकोटमा रहेका १४ वटा विद्यालयको सहभागितमा प्रतियोगिता मंसिर २४ देखि २६ गतेसम्म तीन दिनसम्म सञ्चालन हुनेछ। प्रतिस्पर्धात्मक विधामा विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । उत्कृष्ट खेलाडी र विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिने आयोजक समितिले जनाएको छ।
कोहल खेलमैदानमा सम्पन्न उद्घाटन कार्यक्रम वडा नं। २ का वडा अध्यक्ष ओम प्रसाद प्रोखरेलको स्वागत मन्तव्य तथा शिक्षा शाखा प्रमुख टिकाराम आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो।















