
काठमाडौं, २४ भदौ – जेन–जी प्रदर्शनको दोस्रो दिन आन्दोलन उग्र बन्न थालेको छ। उपत्यकाका तीनै जिल्लामा प्रशासनले कर्फ्यु आदेश जारी गरेको भए पनि प्रदर्शनकारीहरूले त्यसको अवज्ञा गर्दै चोक–चोकमा नाराबाजी सुरु गरेका छन्।
यसैक्रममा प्रदर्शनकारीहरूले प्रमुख नेताका घरहरूलाई निशाना बनाएका छन्। प्रदर्शनकारीको एक समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा गेट तोडफोड गरेको छ। प्रहरीका अनुसार, प्रदर्शनकारीहरू घरभित्र प्रवेश गर्ने प्रयासमा थिए।



त्यस्तै, प्रदर्शनकारीहरूले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ को ललितपुर, सुनाकोठीस्थित निवासमा आगजनी गरेका छन्। सुरक्षाकर्मीका अनुसार, घरमा ढुंगामुढा र आगजनी भएको थियो र अहिले आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ।
स्थानीय प्रशासनले प्रदर्शनकारीहरूलाई शान्ति कायम राख्न र कर्फ्युको पालना गर्न अनुरोध गरेको छ। प्रहरी र सुरक्षा निकायहरूले घटनास्थलमा सुरक्षा कडा बनाएका छन् र थप हिंसात्मक गतिविधि रोक्न कदम चालिरहेको बताएका छन्।
राजधानीमा जारी यो हिंसात्मक प्रदर्शनले राजनीतिक स्थायित्व र जनसुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ। प्रशासनले आवश्यक परे थप कडा सुरक्षा र नियन्त्रण उपायहरू लागू गर्ने तयारी गरेको छ।