पाल्पा । तिनाउ गाउँपालिकाले आफ्ना किसानहरूलाई प्रोत्साहन गर्न र उनीहरूको उत्पादनलाई बजारमा सहज पहुँच दिने उद्देश्यले बुटवल बजारमा सटर भाडासहितको अनुदान कार्यक्रम सुरु गरेको छ। गाउँपालिकाले गाउँपालिकाभित्र उत्पादित कृषि उत्पादन तथा खशी बोका कुखुराको ब्यापारीकरणमा बिशेष जोड दिएको छ । गाउपालिकाको सहयोगमा बुटवल हाटबजारमा २ वटा कोठा भाडामा लिई तिनाउँबाट उत्पालित कृषि उत्पादनहरू बिक्री गरिदै आएको गाउपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । तिनाउका किसानले उत्पादन गरेका कृषि उपजहरू सोही सटरबाट बिक्री बितरण हुँदै आएको छ । यहाबाट बिक्री गरिएका कृषि उपजहरुको रेकर्ड राखी गाउपालिकाले किसानहरुलाई उत्पादन तथा बिक्रीमा आधारित अनुदान समेत दिदै आएको छ । उक्त सटरको मासिक भाडा समेत तिनाउ गाउँपालिकाले नै भुक्तानी गर्दै आएको छ ।
गाउँपालिकाले किसानले प्रति १ सय रुपैयाँको कृषि उपज बिक्री गर्दा रु ५ गाउपालिकाले अनुदान दिने गरेको छ । चालु आर्थिक बर्षमा उक्त शीर्षकमा १५ लाख रुपैया बिनियोजन भएकोमा नपुग्ने अवस्था रहेको कृषि शाखा प्रमुख शर्माले बताउनुभयो । यस वर्ष गाउपालिकाको उक्त स्थानमा चिस्यान केन्द्र बनाउनका लागि १० लाख रुपैया बिनियोजन गरी कार्यप्रक्रिया समेत अगाडि बढाएको उहाले बताउनुभयो । यसरी चिस्यानकेन्द्र बनिसकेपछि किसानको उत्पादनलाई भण्डारण गरेर राख्न समेत सहज हुने अध्यक्ष श्रेष्ठको भनाई छ । यसरी गाउपालिकाबाट उत्पादित कृषि तथा पशु उत्पादन एकैठाउबाट बिक्री हुन थालेपछि यसमा हुने बिचौलियाको समेत अन्त्य भएको किसानहरुको भनाई छ ।



केन्द्रका अध्यक्ष टेम बहादुर बगाले मगरले यसबाट किसानहरु पूर्ण रुपमा लाभान्वित भएको बताउनुभयो । बुटवलमा तिनाउको अर्गानिक उत्पादन किन्न र खान पाउँदा उपभोक्ता पनि खुशी भएको र यसबाट किसानहरुको आम्दानी समेत बढेको तथा बिचौलियाको समेत अन्त्य भएको उहाँले बताउनुभयो । यो सटरबाट मासिक २२ लाख बढीको ब्यापार हुने गरेको बगालेले बताउनुभयो । “पहिले बुटवल भैरहवाका ब्यापारीहरू किसानको घर घरमा गएर सस्तोमा कृषि उत्पादन खरिद गरी लगेर महंगोमा बेच्थे, अहिले सिधै हाम्रो सटरमा किसानले आफ्नो उत्पादन लैजाने,पठाउने गर्नुहुन्छ । यसबाट किसानलाई पनि धेरै फाइदा भएको र किसानको उत्पादनले पनि राम्रो बजारमुल्य पाएको छ ।” उहाँले भन्नुभयो ।
यस कार्यक्रमले स्थानीय तरकारी, फलफूल, दुग्धजन्य वस्तु, अन्नपात लगायतका उपज बेच्ने किसानलाई प्रत्यक्ष लाभ पुर्याउनेछ। यो पहलले तिनाउ गाउँपालिकाका किसानलाई बजारसँग जोड्ने, उनीहरूको आम्दानी बढाउने र स्थानीय उत्पादनको प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।














