
रिब्दीकोट । रिब्दीकोट गाउँपालिकाले स्थानीय कृषकहरूले उत्पादन गरेको बेसारको उचित मूल्य सुनिश्चित गर्न बसुन्धरा एग्रो प्रा.लि.सँगको छलफलपछि न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । अब कृषकहरूले सहकारीमार्फत उत्पादन बिक्री गर्न सक्नेछन् ।गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति अनुसार बजार सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय लिएको जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायण कार्की,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनाल,वडा अध्यक्षहरू सहित पालिकाका पदाधिकारी, कृषि विज्ञ, स्थानीय सहकारी प्रतिनिधि तथा कृषकहरूको उपस्थिति रहेको थियो ।बेसार खेती गर्दै आएका कृषकहरूले विगतमा बजार नपाएर समस्या भोग्नुपरेको थियो । बिचौलियाको चलखेलका कारण उचित मूल्य नपाउँदा किसानहरू निरुत्साहित बन्न थालेका थिए ।



साेही समस्यालाई मध्यनजर गर्दै रिब्दीकोट गाउँपालिकाले सहकारीमार्फत संकलन प्रणाली लागू गरी न्यूनतम मूल्य निर्धारण गर्ने निर्णय लिएको हो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले यो निर्णयले कृषकहरूलाई राहत मिल्ने बताउनुभयो । पालिकाका किसानहरूले उत्पादन गरेको बेसार उचित मूल्यमा बिक्री हुन नसक्दा मर्कामा पर्नु परेको परिस्थितिमा अब सहकारीमार्फत बिक्री प्रणाली लागू गर्दा किसानहरूले उचित मुल्य पाउने बताउनुभयो । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानहरूको जीवनस्तर सुधार गर्ने गाउँपालिकाकाे मुख्य उद्देश्य रहेको बताउनुभयो ।
गाउँपालिकाले निर्धारण गरेको मूल्यअनुसार सम्बन्धित कृषकहरूले आ-आफ्नो वडामा रहेका कृषि सहकारीहरूमा सम्पर्क गरी उत्पादन बिक्री गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले बताउनुभयो । गाउँपालिकाको यो कदमले कृषि उत्पादनलाई थप प्रवर्द्धन गर्ने विश्वास लिएको बताउनुभयो ।
कृषकहरूले आफ्नो उत्पादन बिक्री गर्न गाउँपालिकाले तोकेको सहकारीहरूसँग सम्पर्क गर्नुपर्नेछ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै किसानहरूको आर्थिक सुधारमा टेवा पुर्याउने विश्वास लिएर प्रमुख प्रशासकिय अधिकृत खनालले बताउनुभयो ।