
पाल्पा । माथागढी-१, चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयले आफ्नो ७३औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट नतिजा दिने र सतप्रतिशत उपस्थित शिक्षकहरूलाई सम्मान गरेको छ। विद्यालयका १० जना शिक्षकहरूले विभिन्न विषयमा १००५ विद्यार्थी उत्तीर्ण गराउन सफल भएका थिए। यसै अवसरमा विद्यालय व्यवस्थापन समितिले सम्मान कार्यक्रम आयोजना गरेको हो।
सम्मानित शिक्षकहरूमा अनुप शर्मा (एसइइ – लेखा तथा कक्षा १२ – अर्थशास्त्र), इन्दिरा देवकोटा (कक्षा १२ – नेपाली), कमल बहादुर पौडेल (एसइइ – ऐच्छिक गणित तथा अनिवार्य गणित – प्राविधिक धार), गोपाल प्रसाद बस्याल (कक्षा १२ – सामाजिक – साधारण तथा प्राविधिक धार), जीवन खनाल, जगराम यादव, केशव लम्साल (कक्षा १२ – शिक्षा तथा विकास), अनिल वस्नेत, सरोज वि.सी., सुस्मिता दर्लामी (कक्षा ८ – अङ्ग्रेजी) तथा विद्यालयमा सतप्रतिशत हाजिरी गर्ने गणेश आचार्य रहेका छन्।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं माथागढी गाउँपालिका वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीले शिक्षकहरूको मेहनत र समर्पणको उच्च मूल्यांकन गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नीति निर्माण गरी सम्मान कार्यक्रमलाई निरन्तरता दिइने बताए। प्रधानाध्यापक कृष्ण प्रसाद खनालले शिक्षकहरूको मेहनतकै कारण विद्यार्थीहरूमा प्रतिस्पर्धाको भावना विकास भई विद्यालयको शैक्षिक स्तर उच्च हुँदै गएको उल्लेख गरे। सहायक प्रधानाध्यापक अनुप शर्माले पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कार्यक्रमका प्रमुख अतिथि माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पन्थी, तथा प्रधानाध्यापक कृष्ण प्रसाद खनालले सम्मान वितरण गरेका थिए।