
पाल्पा — रिब्दीकोट गाउँपालिका वडा नं. ५ स्थित भवानी माध्यमिक विद्यालय, कुसुमखोलाको ६८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि एवं रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले गर्नु भएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कार्कीले शिक्षाको गुणस्तर सुधारमा शिक्षक, विद्यार्थी, अभिभावक र समाज सबैको महत्वपूर्ण भूमिका रहने बताउँदै स्थानीय सरकारले शैक्षिक सुधारका लागि सधैं विद्यालय समुदायसँग सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षक, विद्यार्थी, अभिभावक र समुदायले आपसी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय सरकार शिक्षा क्षेत्रमा निरन्तर साथ रहने उहाँको भनाइ थियो ।



कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल, वडा नं. ५ का वडा अध्यक्ष मन बहादुर अस्लामी, कार्यपालिका सदस्य गोमा थापा तथा अन्य जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको छ । त्यस्तै, विद्यालयका एसएलसी २०५० ब्याचका विद्यार्थीहरूको पहलमा निर्माण हुन लागेको सरस्वती मन्दिरको शिलान्यास गाउँपालिका अध्यक्ष कार्कीले गर्नुभएको थियाे ।