
तानसेन । नेपाल औषधि व्यवसायी संघ पाल्पाको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशन तानसेनमा भएको छ । शनिबार भएको अधिवेशन नयाँ कार्यससमिति चयन गरेको छ।
एक समारोहकाबिच सम्पन्न महाधिवेहनबाट अध्यक्षमा समिरमान सिंह चयन हुनुभएको छ । संघको शनिबार तानसेनमा भएको आठौं साधारण सभा तथा सातौं जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।
सिंह यस अघि संघको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाँ पाल्पा उद्योग वाणिज्य संघका महासचिव समेत हुनुहुन्छ । यस्तै अधिवेशनले उपाध्यक्षमा सू्र्य बस्याल, महासचिवमा मैना सुवेदी, कोषाध्यक्षमा सचिन विष्ट, सचिवमा बेनिमाधव आचार्य र सह कोषाध्यक्षमा निरोज श्रेष्ठलाई चयन गरेको संघका पूर्व अध्यक्ष रुक्मागत शर्माले जानकारी दिनुभयो । यस्तै सदस्यहरुमा ईशवरी प्रसाद विसी, रिता पाण्डे र अनिल थापा रहेको संघले जनाएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि सिंहले आफ्नो कार्यकालमा औषधि व्यवसायीहरूको हकहितको संरक्षण गर्दै औषधि वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सिंहले स्थानीय, प्रादेशिक र संघीय सरकारसँग सहकार्य गरी औषधि व्यवसायीहरूको हितका लागि आवश्यक नीतिगत सुधारका पहल गर्ने जनाउनु भएको छ । नयाँ नेतृत्व चयनसँगै संघले आगामी दिनमा औषधि व्यवसायीहरूको क्षमता अभिवृद्धि, औषधि सुरक्षा र व्यवसाय प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।


