
पाल्पा,रामपुर नगरपालिकाले वडा नं. ९ मा एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिविर मार्फत सेवा प्रवाह गरेको हो । नगरपालिकाले स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो । भूगोलका हिसावले टाढा रहेको वडालाई मध्यनजर गर्दै वडा नं. ९ मा घुम्ती शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । नगरबासीको आवश्यकता तथा सेवामा सहजताका लागि शिविर सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले यही फागुन १२ गते वडा नम्बर १ मा पनि शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको जानकारी लिनुभयो । यस वर्ष नगरपालिका कार्यालय बाट दुरीका हिसाबले टाढा रहेका तीन वडामा शिविर मार्फत सेवा प्रवाह गरिने बताउनुभयो ।नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीको लागि अन्य स्थानमा पनि शिविर संचालन गर्ने योजना रहेको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । शिविरबाट हिउँदे अधिवेशन बाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो । आधारभूत स्वास्थ्य केन्द्र जब्गादीको प्राङ्गणमा मङ्गलबार भएको शिविरमा एकै दिन ६ सय १० सेवाग्राहीले सेवा लिएको वडा अध्यक्ष दिल बहादुर रानाले जानकारी दिनुभयो । शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २१३ जना, आँखा तथा कान जाँच ५२२ जना, दन्त परिक्षण २१५, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ३२ जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा ११ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र ११ जना, योजना सम्झौता ७ जना, व्यवसाय नविकरण ८ जना र बैंक खाता खोल्ने १४ जना, पशु सेवा १४५ र कृषि सेवा १०८ जनाले सेवा लिएको रामपुर नगरपालिका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । साथै शिविरमा ७ जनाले माटो परिक्षण र २५ जना कृषकले माटो परिक्षण गराएका छन् । आँखा परिक्षण गराउनु भएका मध्ये ४ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो। साथै शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, पाल्पा मेट्रोसिटी अस्पतालको समन्वमा सुगर प्रेसर जाँच र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा वडा नं.९ का स्थानीय संगै भानुभक्त मावि, जनशान्ति मावि र हटल्याण्ड इङ्गलिश बोर्डिङ्का विद्यार्थीहरुको आँखा परीक्षण गरिएको थियो ।रामपुर नगरपालिकाले नगरपालिकाले यस अघि वडा वडा मै पुगेर चालू घुम्ती शिविर मार्फत आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता गर्नुका साथै र बैंक खाता खोल्ने व्यवस्था मिलाएको थियो । नगरपालिकाले बैंक भन्दा पर रहेका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ। शिविर मार्फत नगरपालिका कार्यालयका विभिन्न शाखाहरुले प्रदान गर्ने सेवा कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थितिमा सेवा प्रवाह गरिएको थियो ।


