
तानसेन, । नेकपा( माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताउनु भएको छ। सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उहाँको आरोप छ ।
बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताउनु भयो।



सरकारको समर्थनमा दुई तिहाइको बहुमत भन्नेले संसदको सामना गर्न नसकेर अध्यादेशको साहारा लिएर शासन गर्न खोजेको आरोप उहाँले लगाउनुभयो। पत्रकार भेटघाटमा बोल्नुहुँदै उहाँले संवैधानिक प्रक्रिया अवलम्बन गर्न सरकार डराएको दाबी गर्नुभयो । संसद छलेर अध्यादेशबाट शासन गर्न खोज्नु सर्वथा गलत रहेको नेता पुनको भनाइ छ । उहाँले भन्नुभयो, “कानुन निर्माण प्रक्रियामा संसद छल्न खोज्नु सरकार स्वेच्छाचारिता तर्फअघि बढ्नु हो, अध्यादेशबाट शासन चलाउन खोज्नु गलत हो ।”
पूर्व अर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान सरकार अर्थतन्त्र सुधार गर्न पूर्णत असफल भएको दाबी गर्नुभयो । अर्थतन्त्र सुधार गर्न सरकारले कुनै ठोस पहल नगरेकाले अर्थतन्त्र थप धरासायी बनेको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रचण्ड नेतृत्वको सरकारको तुलनामा अहिले अर्थतन्त्र थप गहिरो सङ्कटतर्फ धकेलिएको जिकिर गर्दै अर्थतन्त्र सुधार गर्नका लागि आफूले सरकारलाई सहयोग गर्ने बताउनुभयो ।