पाल्पा। रिब्दीकोट गाउँपालिकाले आ.व. २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार उपाध्यक्षसँगै करेसाबारी कार्यक्रम अन्तर्गत विद्यार्थी सचेतना र निःशुल्क बीउ वितरण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यक्रम भैरव जनता माध्यमिक विद्यालय र भैरव मेमोरियल बोर्डिङ स्कुलमा शुक्रबार उपाध्यक्ष कान्ता अधिकारीको उपस्थितिमा सम्पन्न भएको थियो। गाउँपालिकाभित्रका १९ वटा विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई चरणबद्ध रूपमा सचेतना र बीउ वितरण गरिँदैछ।



गाउँपालिकाले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी “पढ्दै–सिक्दै–कमाउँदै” अभियान अन्तर्गत करेसाबारी कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको उद्देश्य विद्यार्थीलाई व्यवहारिक सीप सिकाउँदै उत्पादनमुखी, स्वास्थ्य सचेत र आत्मनिर्भर बनाउनु रहेको छ।
कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई नि:शुल्क बीउ वितरणसंगै करेसाबारीको महत्व, घरमै तरकारी उत्पादन गर्ने तरिका र जैविक खेतीप्रतिको चेतना सम्बन्धी जानकारी दिइएको थियो।
गाउँपालिकाका कृषि शाखाका प्रमुख प्रज्ञा लाम्टाङ्गेले बीउको सदुपयोग, गुणस्तरीय बीउ चयन र उचित खेती प्रविधि सम्बन्धी व्याख्या गर्दै विद्यार्थी र शिक्षकहरूलाई कृषि उत्पादन वृद्धि गर्न प्रयोग गर्न सकिने तरिका बारे जानकारी दिनुभयो।
स्वास्थ्य शाखाका प्रमुख शुनिल अधिकारीले सन्तुलित आहार, सरसफाइ, पानीको शुद्धता, रोगप्रतिरोधात्मक क्षमता र व्यक्तिगत स्वास्थ्य व्यवस्थापनका विषयमा विद्यार्थीलाई सचेत गराउनुभयो। उहाँले भन्नुभयो, “स्वस्थ शरीरमा मात्र स्वस्थ मन बस्छ, र स्वस्थ विद्यार्थीले मात्र दीर्घकालीन रूपमा उत्पादनमुखी र समाजको सकारात्मक योगदान गर्न सक्छ।”
कार्यक्रमका दुई विद्यालयका प्रध्यानाध्यापकहरूले गाउँपालिकाप्रति आभार व्यक्त गर्दै यस अभियानलाई अत्यन्त व्यावहारिक र प्रभावकारी भएको उल्लेख गर्नुभयो। उहाँहरूले विश्वास व्यक्त गर्नुभयो कि यसले विद्यार्थीमा कृषि उत्पादन, पोषणयुक्त आहार, वातावरण संरक्षण र सामाजिक जिम्मेवारीबोधमा सकारात्मक प्रभाव पार्नेछ।
उपाध्यक्ष कान्ता अधिकारीले बताए अनुसार गाउँपालिकाभित्रका १९ वटा विद्यालयमा चरणबद्ध रूपमा कार्यक्रम सञ्चालन भइरहेको छ। उनले भन्नुभयो, “विद्यालय र घरमा करेसाबारी स्थापना गरेर विद्यार्थीलाई व्यवहारिक रूपमा कृषिसँग जोड्ने हाम्रो लक्ष्य हो। पढ्दै–सिक्दै–कमाउँदै गर्न सक्ने वातावरण सिर्जना गर्न चाहन्छौं। करेसाबारी कार्यक्रममार्फत उनीहरूमा व्यवहारिक ज्ञानका साथै उत्पादनप्रतिको लगाव बढाउने हाम्रो उद्देश्य हो।”
उहाँले थपे, आगामी दिनमा पनि यस्ता विद्यार्थीमूलक र सिप विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले यस पहलको दीर्घकालीन महत्व औँल्याउँदै भन्नुभयो, “उपाध्यक्षसँगै सञ्चालन भएको करेसाबारी कार्यक्रमले विद्यार्थी मात्र नभई सम्पूर्ण समुदायमा सकारात्मक प्रभाव पार्नेछ। यसले विद्यार्थीलाई हातले बीउ रोप्ने, हेरचाह गर्ने र उत्पादन गर्ने अभ्यासबाट श्रम, सिप र आत्मनिर्भरताका मूल्यहरू सिक्ने अवसर दिन्छ।”
कार्यक्रममा गाउँपालिकाका प्रतिनिधि, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी, पत्रकार, विद्यालयका शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
करेसाबारी कार्यक्रममार्फत गाउँपालिकाले विद्यार्थीलाई नि:शुल्क बीउ वितरणसंगै कृषि, स्वास्थ्य र उत्पादन क्षेत्रमा सामुदायिक सचेतना फैलाउने महत्वपूर्ण पहल गरेको छ।
कृषि प्राविधिक टंक गौतम सन्चालन तथा वडा न. ४ का अध्यक्ष सोम बहादुर कार्कीको अध्यक्षयतामा भैरव जनता माध्यमिक विद्यालय र वडा सदस्य राजेन्द्र नेपालको अध्यक्षयतामा भैरव मेमोरियल बोर्डिङ स्कुलमा कार्यक्रम सम्पन्न भएको थियो ।
















