अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको घरमा आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा बुधबार अर्घाखाँचीको सन्धिखर्कबाट पक्राउ परेका तीन युवालाई अदालतले छाड्ने आदेश दिएको छ ।भूमिकास्थान नगरपालिका–१ घर भई हाल सन्धिखर्क नगरपालिका–२ घोचेखोला बस्ने गुरुदेव खनाल, सन्धिखर्क नगरपालिका–२ भक्तिटोलाका पुष्कर पौडेल भनिने पुष्पलाल पौडेल र सोही वडाको कुर बस्ने चूरामणि ढुंगाना बुधबार पक्राउ परेका थिए ।अर्घाखाँची जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बुधबार पक्राउ परेका थिए तर बिहीबार जिल्ला अदालतले उनीहरुलाई थुनामा राख्नुपर्ने प्रमाणहरु नदेखिएको भन्दै छाड्न आदेश दिएको हो । उनीहरूलाई आपराधिक उपद्रवसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो ।मुख्यमन्त्रीले प्रतिशोध साधेर आफुहरुलाई बिना कारण प्रहरीले पक्राउ गरे पनि अदालतले न्याय दिएको गुरुदेव खनालले बताए ।
















