पाल्पा—पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आगलागी नियन्त्रण, सडक दुर्घटना र अन्य आकस्मिक विपद् व्यवस्थापनका लागि अत्याधुनिक दमकल प्राप्त गरेको छ । गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईको नेतृत्वमा गरिएको निरन्तर पहल, संवाद र समन्वयका कारण यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो । जापान सरकारको आर्थिक सहयोग र युनाइटेड मिसन अस्पताल पाल्पाको सक्रिय सहजीकरणमा सम्पन्न यो परियोजनाले गाउँपालिकाको सुरक्षात्मक तथा उद्धार क्षमतामा नयाँ अध्यायको सुरुवात गरेको गाउँपालिकाले जनाएको छ ।
काठमाडौँमा कार्तिक १३ गते आयोजित एक विशेष समारोहका बीच जापान दूतावासका प्रतिनिधिहरूले औपचारिक रूपमा दमकल हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा जापान दूतावासका अधिकारीहरू, युनाइटेड मिसन अस्पताल पाल्पाका प्रमुखहरू, विभिन्न जिल्लाका गाउँपालिकाका अध्यक्षहरू, जनप्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय थियो । उक्त समारोहले नेपाल–जापान मैत्री सम्बन्धलाई अझ बलियो बनाएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।



दमकल हस्तान्तरणपछि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले यो सहयोग गाउँपालिकाका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार यो दमकल केवल एउटा सवारी साधन मात्र नभई समुदायको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित जीवनरक्षक उपकरण रहेको बताउनुभयो । गाउँपालिकाले अब आगलागी तथा अन्य आकस्मिक घटनामा तत्काल र प्रभावकारी प्रतिक्रिया दिन सक्षम हुने उहाँको भनाइ थियो । अध्यक्ष भट्टराईले जापान सरकार र युनाइटेड मिसन अस्पताल पाल्पाप्रति विशेष धन्यवाद ज्ञापन गर्दै, “यो सहयोगले हाम्रो गाउँपालिकाको सुरक्षा र सेवा प्रवाह प्रणालीलाई नयाँ उचाइमा पुर्याएको छ,” भन्नुभयो ।
विगतमा पहाडी भू–भागका कारण उद्धार कार्यमा ढिलाइ र कठिनाइ हुने गर्थ्यो, तर अब आधुनिक उपकरण र प्रशिक्षित जनशक्तिका माध्यमबाट ती समस्या धेरै हदसम्म घट्नेछन् । गाउँपालिकालाई सुरक्षित, सक्षम र द्रुत प्रतिक्रियायुक्त बनाउने दिशामा अघि बढिरहेका अध्यक्ष भट्टराईले बताउनुभयाे । गाउँपालिकाले प्राप्त दमकल सञ्चालनका लागि आवश्यक संरचना निर्माण, चालक तालिम, प्राविधिक तयारी र आवश्यक उपकरणहरूको जडान कार्य पनि सुरु गरिने गाउँपालिकाले जनाएको छ ।
दमकल प्राप्तिसँगै गाउँपालिकाको उद्धार क्षमता मात्र नभई विकास योजनाहरूको कार्यान्वयनमा पनि सहजता आउने विश्वास व्यक्त गरिएको छ । विगतमा आगलागी र अन्य विपद् समयमा छिमेकी नगरपालिकाबाट दमकल बोलाउनुपर्थ्यो, जसका कारण उद्धार कार्यमा ढिलाइ हुने गर्थ्यो । अब गाउँपालिकाकै स्वामित्वमा रहेको यो दमकलले त्यस समस्याको स्थायी समाधान गर्ने अपेक्षा गरिएको छ ।
युनाइटेड मिसन अस्पताल पाल्पाका प्रतिनिधिहरूले जापान सरकारको सहयोगलाई स्थानीय तहको क्षमतावृद्धिको उत्कृष्ट उदाहरणका रूपमा लिँदै, गाउँपालिकाले यस उपकरणको उचित सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । रैनादेवी छहरा गाउँपालिकाले प्राप्त गरेको यो दमकल केवल उपकरणको रूपमा सीमित नभई स्थानीय सरकारको अग्रसरता, अन्तर्राष्ट्रिय सहयोग र संस्थागत समन्वयको सुन्दर उदाहरण बनेको छ । यो पहलले गाउँपालिकाको मात्र होइन, सम्पूर्ण पाल्पा जिल्लाको सुरक्षात्मक क्षमतामा पनि नयाँ ऊर्जा थपेको छ ।













