काठमाडौँ । आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना गरिँदै छ ।
नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ ।



संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रूप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो हुने गर्दछ । सोमबारदेखि नै देशभरका शक्तिपीठमा भक्तजनको विशेष चहलपहल सुरु भइसकेको छ ।














