
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगतको त्रिकोणात्मक सिरिजमा नेपालले आज बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा स्कटल्याण्ड विरुद्ध नाटकीय जित दर्ता गरेको नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । ८ देश सहभागी रहेको श्रृंखलामा पुच्छारबाट दोस्रो स्थानमा रहेको नेपालले तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघिका १३ खेल खेल्दा नेपालले केबल ३ जित निकाल्दै ८ अंकसहित तालिकाको ७ औँ स्थानमा रहेको छ ।



स्कटल्यान्डविरुद्धको जित नेपालका लागि एउटा टर्निङ प्वाइन्ट बन्न सक्ने आशा गरिएको छ । नेदरल्यान्डसँग नेपालले उच्च मनोबलका साथ पेश हुने छ । यद्यपि, नेपालले केही कमीकमजोरी सुधार्नुपर्ने स्थिति छ ।
ओडीआई मान्यताको १८ औँ स्थानमा रहेको नेपालले १४ औँ स्थानमा रहेको नेदरल्यान्ड्ससँग खेल्न लागेको हो ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म ५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेट खेल भएका छन्। तीमध्ये नेदरल्यान्ड्सले ३ खेल जितेको छ भने नेपालले २ खेलमा विजय हासिल गरेको छ। पछिल्लो पटक २५ फेब्रुअरी २०२४ मा कीर्तिपुर खेलमैदानमा भएको खेलमा नेदरल्यान्ड्सले ८ विकेटले जितेको थियो भने उक्त प्रतियोगिताको पहिलो खेलमा नेपालले ९ विकेटले जितेको थियो ।