
पाल्पा, माथागढी गाउँपालिकामा सञ्चालित स्वास्थ्य सचेतना तथा योग अभ्यास कार्यक्रमले स्थानीयवासीबीच सकारात्मक प्रभाव पारेको छ। स्थानीय तहको समन्वयमा सम्पन्न कार्यक्रममा दर्जनौं सेवाग्राहीहरूले स्वास्थ्यसम्बन्धी परामर्श, योग अभ्यास, र पोषण सम्बन्धी जानकारी प्राप्त गरेका छन्। वडा नं. १, चिदीपानीको ज्ञानोदय आधारभूत विद्यालयमा आयुर्वेद औषधालयको आयोजनामा नागरिक आरोग्य अभियान अन्तर्गतको एकदिने विशेष स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हाे। नागरिक आरोग्य अभियान कार्यक्रममा प्रशिक्षण चिदीपानी आयुर्वेद औषधालयका औषधालय प्रमुख डा. श्रीधर अधिकारी र बैद्य निरिक्षक अमृत भण्डारीले स्वास्थ्य जीवन शैली सम्बन्धि सचेतना योगको बारे जानकारी दिनुका साथै स्वास्थ जीवनशैली सम्बन्धि सचेतना घर वरिपरिका जडिबुटी र यिनको उपयोगको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं. १ का अध्यक्ष राजकुमार पन्थीले नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमअनुसार नागरिकलाई शारीरिक व्यायाम, योग, आरोग्य सेवा तथा स्वच्छ र सन्तुलित आहारप्रति जागरूक बनाई स्वस्थ जीवनशैली अपनाउन अभिप्रेरित गरिने उल्लेख गर्नुभयो। स्वस्थ समाज नै समृद्ध राष्ट्रको आधार हुने भएकाले यस अभियानले दीर्घकालीन रूपमा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै उहाँले स्थानीय तह र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।



कार्यक्रममा कार्यपालिका सदस्य तुल्सा न्यौपाने, वडा सदस्य लिला बिक लगायतले पहिला पहिला सर्ने रोगको बिगबिगी रहेको अहिले नसर्ने रोगले जनमानसमा जरा गाडेको छ यस्लाई निर्मुल पार्न आयुर्वेद जीवन शैली अपनाउनु पर्ने बताउनुभएको थियो।कार्यक्रममा सहभागी उत्साहित देखिएका थिए। कार्यक्रमले विशेषगरी वृद्धवृद्धा, महिलाहरू र दीर्घरोगीहरूलाई लक्षित गरी जीवनशैलीमा सुधार ल्याउने उद्देश्य लिएको छ। ज्ञानोदय आ.बि प्रधानाध्यापक बिजयदिप पन्थीले आफ्नो बिद्यालयमा कार्यक्रमको लागि छनोट गरेकोमा धन्यवाद दिनु भएको थियो । आयुर्वेद औषधालय चिदीपानीको आयोजनामा नागरिक आरोग्य अभियान सञ्चालन कार्यक्रम सम्पन्न भएको कार्यक्रम चिदीपानी आयुर्वेद औषधालयका प्रमुख डा. श्रीधर अधिकारी अध्यक्षता, अमृत भण्डारी स्वागत र बिकाश काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।