
पाल्पा, रिब्दीकोट – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा तथा रिब्दीकोट गाउँपालिकाको समन्वयमा “भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्ष कार्यपालिका सदस्य कार्यालय प्रमुख, कर्मचारी, लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत मणि प्रसाद खनालले जानकारी दिनुभयो ।



कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्षनारायण बहादुर कार्कीले मन्तव्य राख्दै सुशासन कायम राख्न र भ्रष्टाचार नियन्त्रण गर्न सबै तहका सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । उँहाले गाउँपालिकाको तर्फबाट पारदर्शिता र जवाफदेहितामा प्रतिबद्धता जनाउँदै यस्ता कार्यक्रमहरू निरन्तर आवश्यक रहेको धारणा व्यक्त राख्नुभयो ।
अध्यक्ष कार्कीले वर्तमान अवस्थामा नेपालमा भ्रष्टाचारको समस्या दिनप्रतिदिन बढ्दै गएको र यसका निराकरणका लागि सार्वजनिक पद धारण गर्ने व्यक्तिदेखी सर्वपक्षीय सबै आ- आफ्नो तर्फबाट क्रीयाशिल भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो।
भ्रष्टाचार नियन्त्रण केवल कानुनी प्रक्रिया मात्र होइन, यो नैतिक दायित्व पनि हो। प्रत्येक कर्मचारी र जनप्रतिनिधिले आफ्नो कार्य सम्पादन गर्दा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको पालना गर्नु अत्यन्त जरुरी छ। यस्ता अन्तरक्रिया कार्यक्रमहरूले चेतना अभिवृद्धि गराउनुका साथै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सहयाेग गर्ने प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले बताउनुभयाे ।
सो अवसरमा सहभागीहरूले सार्वजनिक सेवाप्रदायक निकायहरूमा देखिने व्यवहारिक समस्या, सेवा प्रवाहमा पारदर्शिताको कमी, जिम्मेवारीको अस्पष्टता, तथा नागरिकको पहुँच अभाव जस्ता विषयमा प्रश्न राखी सुझाव प्रस्तुत गरेका थिए। अख्तियार आयोगका प्रतिनिधिहरूले सो प्रश्नहरूको जवाफ दिँदै जनचेतनाको अभिवृद्धि र सेवामा सुधारका लागि स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई यस्ता कार्यक्रम आयोजना गरेर स्थानीय तहलाई सहजीकरण गरेकोमा धन्यवाद दिंदै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्दै सहभागी सबैलाई भ्रष्टाचारविरुद्ध ऐक्यबद्ध भई आ–आफ्नो स्थानबाट उत्तरदायी भूमिका निर्वाह गर्न आह्वान समेत गर्नुभयो ।