पाल्पा ।माथागढी गाउँपालिकाले आयोजना गरेको सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नं. १ स्थित सौभाग्य माध्यमिक विद्यालय, चिदीपानीले हात पारेको छ। तीन दिनसम्म माथागढी–३ सराई खेलमैदानमा चलेको प्रतियोगितामा सौभाग्य माविले ८ स्वर्ण, ५ रजत र ७ कास्य सहित कुल २० पदक जित्दै समग्र विजेता बन्न सफल भएको हो।
यस्तैगरी माउण्ट भ्याली ई। स्कुलले ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक प्राप्त गरी दोस्रो बनेको छ भने ४ स्वर्ण, ८ रजत र ५ कास्य जितेर किसान मावि झडेवा तेस्रो बनेको शिक्षा शाखा प्रमुख प्रकाश पाठकले जानकारी दिनुभयो ।



यस्तै दिव्यज्योति माविले १४, सिद्धार्थ माविले ९, ग्रामोदय र रत्न माविले ५÷५ पदक जितेका छन् । धारादेवी माविले ४, कर्णधार माविले ३, सातपोखरी माविले २ र सनराईज पब्लिक स्कुलले १ पदक प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी १६ वटा विद्यालयको सहभागिता रहेको थियो । रनिङ शिल्ड प्रतियोगितामा ज्याभलिन थ्रो, कबड्डी, रिले दौड, एकल दौड, भलिबल, हाइजम्प, लङ्ग जम्प, सटफुटलगायतका खेलमा प्रतिष्पर्धा भएको प्रमुख पाठकले जानकारी दिनुभयो ।
विजेता खेलाडीलाई पुरस्कार वितरण गर्दै माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले खेलकुद प्रतियोगिताले विद्यार्थी, विद्यार्थीका बीचमा सकारात्मक प्रतिष्पर्धा गर्ने भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले प्रतियोगिताले विद्यालय र विद्यार्थीका बीचमा असल अन्तरसम्बन्ध कायम गर्न भूमिका खेलेको बताउनुभयो । खेलकुदका माध्यमबाट देशलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने अध्यक्ष चिदीको भनाइ थियो । उहाँले युवा विद्यार्थीलाई शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने अभियानमा माथागढी गाउँपालिका अघि बढेकोे बताउनुभयो ।
माथागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले प्रतियोगिता मर्यादित, अनुशासित र नियम पूर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले खेलाडीहरुको उचित व्यवस्थापन गर्न स्थानीय समुदाय र समाजसेवीहरुले राम्रो भूमिका निर्वाह गरेका कारण प्रतियोगिता भव्य रुपले सम्पन्न भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । माथागढी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष तेज बहादुर घर्तीले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउनुभयो ।














