पाल्पा — मातृ–शिशु स्वास्थ्यको पहुँच र गुणस्तर सुधारमा उल्लेखनीय प्रगति गर्दै आएको रैनादेवी छहरा गाउँपालिका अब औपचारिक रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका बनेको छ। आठै वडामा शतप्रतिशत महिलाले संस्थागत प्रसूति सेवा लिइसकेको तथ्यांक र स्वास्थ्य प्रोटोकलको पालना प्रमाणित भएपछि स्वास्थ्य कार्यालय पाल्पाले गाउँपालिकालाई सिफारिस गरेको थियो।
स्वास्थ्य शाखाले विगत दुई वर्षयता प्रसूति सेवा सुदृढीकरण, जनचेतना विस्तार, गर्भवती दर्ता तथा जोखिम पहिचान, पोषण सुधार कार्यक्रम, गर्भ परीक्षण प्रोत्साहन र स्वास्थ्य संस्थामा सहज प्रसूति सेवा सुनिश्चित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको थियो। समुदायमा सुरक्षित मातृत्वप्रतिको बुझाइ बढ्दै गएको, वडास्तरमा बर्थिङ सेन्टरहरूको क्षमता अभिवृद्धि भएको र प्रशिक्षित स्वास्थ्यकर्मीको संख्यामा वृद्धि भएको कारण महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहित हुँदै गएका हुन स्वास्थ्य शाखा अनुसार, गाउँपालिकाभित्र भएका सबै गर्भवतीको अभिलेख नियमित रूपमा अपडेट गरिएको र गर्भ परीक्षणदेखि प्रसूति सेवासम्मका प्रोटोकल पूरा भएको प्रमाणित भएपछि गाउँपालिकाले पूर्ण संस्थागत प्रसूति घोषणा पाउने योग्यता हासिलको हो ।



गाउँपालिकाका आठै वडाबाट संकलित तथ्यांक, संस्थागत प्रसूति सूचक तथा मातृ–शिशु स्वास्थ्य प्रोटोकल पूरा भएको प्रमाणित भएपछि स्वास्थ्य कार्यालय पाल्पाले सिफारिस गरेको र सोही आधारमा औपचारिक घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख जिवन रानाले बताए ।
कार्यक्रममा स्वागत मन्त्वय राख्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा हुनु गाउँपालिकाको स्वास्थ्य क्षेत्रप्रतिको प्रतिबद्धता र व्यवस्थित प्रयासको ठोस परिणाम भएको बताए।उनका अनुसार, पछिल्ला वर्षहरूमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन योजना, स्रोत तथा जनशक्तिको प्रभावकारी परिचालन गरेको भन्दै प्रसूति सेवा विस्तार, गर्भजाँचको अभिलेख व्यवस्थापन, सुरक्षित मातृत्व अभियान तथा जोखिमपूर्ण गर्भवती पहिचानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदान निर्णायक रहेको उल्लेख गरे।हाम्रो लक्ष्य केवल सूचक पूरा गर्नु मात्र होइन, हरेक आमाले सुरक्षित वातावरणमा गुणस्तरीय सेवा पाउनुपर्छ भन्ने हो। स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहनका लागि यातायात खर्च उपलब्ध गराउनेदेखि लिएर नियमित गर्भजाँचमा अण्डा वितरणजस्ता कार्यक्रमहरूले महिलामा स्वास्थ्यप्रति जागरूकता बढाएको छ ,प्रमुख प्रशासकीय अधिकृतको भनाई रहेको छ ।
कार्यक्रमका जिल्ला समन्वय समितिकी उपप्रमुख काशिका गैरे, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले संयुक्त रूपमा घोषणा कागज अनावरण गर्दै रैनादेवी छहरालाई औपचारिक रूपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरे।
समन्वय समितिकी उपप्रमुख गैरेले यो उपलब्धिलाई केवल एक गाउँपालिकाको सफलता नभई मातृ–शिशु स्वास्थ्य सुरक्षामा स्थानीय तहहरूको सामूहिक प्रतिबद्धताको प्रमाणका रूपमा लिनुपर्ने बताइन्।उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई अझ प्रणालीगत तथा नतिजामुखी बनाउन पालिकालाई सुझाव दिईन , विशेषगरी मातृ तथा शिशु स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक स्रोत, उपकरण र दक्ष जनशक्ति व्यवस्थापनमा गाउँपालिका निरन्तर सक्रिय रहनुपर्ने उनको धारणा थियो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले संस्थागत प्रसूति शतप्रतिशत हुन सक्नु आफैंमा उल्लेखनीय उपलब्धि भएको भन्दै रैनादेवी छहरालाई नमूना स्थानीय तहका रूपमा उभिन सफल भएको मूल्यांकन गरे।महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै पोखरेलले स्वयंसेविकाहरूले घर–घरमा पुगेर गर्भवतीहरूको अवस्था बुझ्ने, सल्लाह–सुझाव दिने, स्वास्थ्य संस्थामा सेवा लिन प्रोत्साहन गर्ने र मातृ–शिशु स्वास्थ्यसम्बन्धी सन्देश निरन्तर फैलाउने कार्यले गाउँपालिकालाई यो सफलतासम्म पुर्याएको बताएका थिए।
समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई विकासको मूल आधारका रूपमा व्याख्या गर्दै आएको र स्वास्थ्य सेवा जनताको घरदैलोमा पुर्याउन विभिन्न नयाँ कार्यक्रमस्थापना गरिएको बताए। अध्यक्ष भट्टराईका अनुसार, गर्भवती मैत्री पूर्वाधार निर्माण, प्रसूतिकर्मीको दक्षता वृद्धि, बर्थिङ सेन्टरको क्षमता विस्तार, स्वास्थ्य शिक्षा तथा जनजागरण कार्यक्रम र जोखिमयुक्त गर्भवती पहिचान गरी नियमित अनुगमन गर्ने प्रणालीले गाउँपालिकामा मातृ–शिशु स्वास्थ्य सूचक सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ।पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गाउँपालिकाका स्वास्थ्य संस्था र स्थानीय तहबीचको समन्वय, समुदायस्तरको सहभागिता तथा नेतृत्वदायी भूमिकाको संयोजनको उदाहरण हो। उनले यो उपलब्धिले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम तथा नवप्रवर्तन अघि बढाउन प्रेरणा दिएको बताए।
घोषणा समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले रैनादेवी छहराको उपलब्धि प्रदेशकै लागि महत्वपूर्ण उपलब्धि भएको टिप्पणी गर्दै मातृ–शिशु स्वास्थ्य सेवा सुधारमा स्थानीय तहको नेतृत्व प्रभावकारी ढंगले प्रतिफलित भएको भन्दै प्रशंसा गरे। मन्त्री सारुले गाउँपालिकाले प्रसूति सेवा सुदृढीकरणमा देखाएको सक्रियता, स्वास्थ्यकर्मीको नियमित खटाइ, तथ्यांक प्रणालीको समन्वय र समुदायमा फैलिएको सुरक्षित मातृत्व सम्बन्धी चेतनाले यो उपलब्धि सम्भव भएको बताए। उहाँले आगामी दिनमा गाउँपालिकामा ग्रामीण अल्ट्रासाउण्ड सेवा विस्तार गरी गर्भवती महिलाको स्वास्थ्य परीक्षण अझ सहज बनाइने प्रतिबद्धता जनाउँदै प्रदेश सरकार मातृ–शिशु स्वास्थ्य सुधारका कार्यक्रमलाई स्थायी रूपमा अघि बढाउन स्थानीय तहसँग सहकार्य गर्ने बताए।
घोषणा कार्यक्रममा गाउँपालिकाका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूको मूल्यांकन अनुसार, रैनादेवी छहरामा प्रसूति सेवा सुधार केवल स्वास्थ्य शाखाको मात्र उपलब्धि नभई समुदायको निरन्तर सक्रियता, स्थानीय सरकारको नीतिगत प्रतिबद्धता र स्वास्थ्य संस्थाको सेवा गुणस्तर मिलेर बनेको सामूहिक परिणाम भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आगामी वर्षमा मातृ–शिशु स्वास्थ्य सेवा विस्तारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। गाउँपालिकाले बर्थिङ सेन्टरहरूमा थप उपकरण तथा आपतकालीन तयारी सुदृढ गर्ने, मोबाइल स्वास्थ्य सेवा दुर्गम बस्तीमा पुर्याउने, गर्भवती तथा नवजात शिशुको गृह–अनुगमन कार्यक्रमलाई अझ विस्तार गर्ने, डिजिटल स्वास्थ्य अभिलेखलाई पूर्ण रूपमा लागू गर्ने तथा विद्यालय, आमा समूह र समुदायसँग समन्वय गरेर नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ।
स्वास्थ्य शाखा प्रमुख जिवन रानाले गर्भवती दर्ता, फोलो–अप, प्रसूति सेवा तथा नवजात शिशु अनुगमनलाई डिजिटल अभिलेखमार्फत व्यवस्थित गरिएको र वडास्तरमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकासँगको समन्वयले सेवा प्रवाह अत्यन्तै सहज बनेको जानकारी दिए।
रैनादेवी छहराको पूर्ण संस्थागत प्रसूति सेवा घोषणा केवल एक औपचारिकता नभई मातृ–शिशु स्वास्थ्य अधिकारको सुनिश्चितताप्रति स्थानीय सरकारको जिम्मेवारी र प्रतिबद्धता स्थापित गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ। प्रसूति सेवामा सहज पहुँच, स्वास्थ्यकर्मीको नियमित खटाइ, आर्थिक सहयोगका कार्यक्रम र समुदायमा सुरक्षित मातृत्वबारे उत्पन्न सकारात्मक धारणा मिलेर गाउँपालिकालाई स्वास्थ्य सूचक सुधारमा प्रदेशकै अग्रस्थानमा पुर्याएको देखिन्छ। स्थानीय तहको दीर्घकालीन योजना, स्वास्थ्य पूर्वाधारमा भएको लगानी र समुदायको विश्वास बढ्दै गएको अवस्थामा रैनादेवी छहरा गाउँपालिका अब मातृ–शिशु स्वास्थ्य प्रवर्द्धनमा नमूना स्थानीय तहका रूपमा स्थापित हुने संकेत देखिएको छ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख जिवन रानाले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले स्वास्थ्य सेवामा गरेको लगानी र उपलब्धिबारे प्रकाश पार्नुभएको थियो।














