गुल्मी। गुल्मीका चार सय भन्दा बढी विद्यार्थीको मुटु परीक्षण गरिएको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना तथा गुल्मी अस्पतालको सहजिकरणमा सदरमुकाम तम्घासस्थित महेन्द्र मावि र रेसुङ्गा माविका विद्यार्थीहरुको मुटु परीक्षण गरिएको हो । महेन्द्र माविमा कक्षा ७, ८ र ९ कक्षाका दुई सय २५ तथा रेसुङ्गा माविका कक्षा ७ र ८ का दुई सय पाँच विद्यार्थीको मुटु परीक्षण गरिएको हो ।
संस्थाले त्यसबाहेक गुल्मी अस्पतालमा लागु भएको पेन प्लस कार्यक्रमका नियमित सेवाग्राही २१ जनाको पनि मुटु परीक्षण गरेको छ । परीक्षण गरिएका विद्यार्थीहरुमध्ये छ जना मुटुरोगी भेटिएका छन् । जसमा चार जना विद्यार्थीलाई औषधी खाएमा निको हुने भएको छ भने दुईजनाको शल्यक्रिया गर्नुपर्ने भएको छ । मुटुमा समस्या देखिएपछि करिब १०÷११ बर्षका छात्र र छात्राको शल्यक्रिया गर्नुपर्ने भएको हो ।



उनीहरुमा मुटुसम्बन्धि कुनै समस्या नदेखिएपनि जाँच गर्दा मुटुसम्बन्धि समस्या देखिएको हो । पाँच बर्षदेखि १५ बर्षसम्मका बालबालिकाहरुमा मुटुको बाथ अर्थात मुटुमा संक्रमण हुने सम्भावना भएकोले विद्यार्थीहरुको मुटु परीक्षण गरिएको परीक्षणमा सहजिकरण गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर विभव बत्यालले बताए ।
मुटुरोग विशेषज्ञ डाक्टर अजय अधिकारी र डाक्टर सुमन्त बन्जाडेले विद्यार्थीहरुको मुटु परीक्षण गरेका थिए । शल्यक्रिया गर्नुपर्ने दुई जना विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएकोले संस्थाले निःशुल्क उपचार समेत गरिदिने भएको छ । उनीहरुको आवश्यक कागजातको आधारमा बिरामीको एकजना कुरुवासहित यातायात खर्च, आवास तथा खाना खर्च र शल्यक्रिया एवं औषधी खर्च संस्थाले नै व्यहोर्ने संस्थाकी कार्यक्रम अधिकृत रेनुका धामीले जानकारी दिइन् ।
पेन प्लसबाट सिफारिस भएका बिरामिहरुलाई निःशुल्क उपचार
गुल्मी अस्पतालको ओपिडी नम्बर १५ मा गत चैत २१ गतेबाट पेन प्लस कार्यक्रम लागु गरिएको छ । जसको सहकार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले मुटुरोगीको लागि निःशुल्क उपचार गर्दै आएको छ ।
युनिसेफसँगको सहकार्यमा संस्थाले बिरामी र एकजना कुरुवाको यातायात खर्च, आभास एवं खाना, बिरामीको शल्यक्रिया र औषधी निःशुल्क रुपमा प्रदान गर्दै आएको गुल्मी अस्पतालमा पेन कार्यक्रमको सहजिकरण गर्दै आएका डाक्टर विजय पाण्डेले बताए ।
नसर्ने रोगहरुको उपचारको लागि जिल्ला अस्पतालमा पेन प्लस कार्यक्रम कार्यक्रम सुरु भएको थियो । यो कार्यक्रमअन्तरगत दम, प्रेसर, मुटु, पाठेघर लगायतका बिरामी लाभाम्बित हुने डाक्टर पाण्डेको भनाई छ ।
त्यसका साथै मुटुको भिडियो एक्सरे, डाइबिटिज, मुटुमा हुने प्वालहरु, मुटुको बाथरोग, बच्चाको हाइपरटेसन लगायतको बिरामीको लागि पनि पेन प्लस कार्यक्रमबाट लाभ लिन सकिने डाक्टर पाण्डेले बताए ।














