पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा आयोजित गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ । रैनादेवी छहरा–५ स्थित कटौजेपानी खेलमैदानमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महाकाली माध्यमिक विद्यालय छहरा पहिलो हुन सफल भएको छ।
गाउँपालिकाभित्रका १२ वटा माध्यमिक विद्यालय र २ वटा आधारभूत विद्यालय गरी कुल १४ विद्यालयका ३२४ जना छात्रछात्राले प्रतियोगितामा उत्साहपूर्ण सहभागिता जनाएका थिए । विभिन्न खेल विधामा भएको प्रतिस्पर्धामा महाकाली माविले आठ स्वर्ण, तीन रजत र पाँच कांस्य पदकसहित कुल १६ पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो ।



प्रतियोगितामा सोमादीको गंगा माध्यमिक विद्यालयले पाँच स्वर्ण, तीन रजत र पाँच कांस्य गरी १३ पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने भैरव नवदीप माध्यमिक विद्यालयले चार स्वर्ण, छ रजत र चार कांस्य गरी १४ पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको छ । गौरादेवी मावि जुठापौवाले तीन स्वर्ण पदक जित्दा गुहारठाना मावि र सत्यवती माविले दुई–दुई स्वर्ण पदक हात पारेको शिक्षा शाखा प्रमुख तेज कुमालले बताए ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कबड्डी, एथलेटिक्स, भलिबल, ज्याभलिन थ्रो, सटपुट, हाईजम्प, लङजम्प लगायतका खेलहरू समावेश गरिएका थिए। खेलाडीहरूले प्रतिस्पर्धात्मक भावना, अनुशासन र खेलकुदीय मर्यादालाई आत्मसात् गर्दै खेल प्रदर्शन गरेका थिए।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराई, उपाध्यक्ष युवराज थापा, प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल, सामाजिक विकास समितिका संयोजक प्रदीप पौडेल, शिक्षा शाखा प्रमुख तेज कुमाल लगायतको उपस्थिति रहेको थियो। विजयी खेलाडी तथा विद्यालयलाई शिल्ड, पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले खेलकुदले विद्यार्थीहरूलाई शारीरिक रूपमा मात्र होइन, मानसिक, सामाजिक र संवेगात्मक रूपमा पनि सबल बनाउने बताए। उनले खेलकुदको माध्यमबाट विद्यार्थीहरूले आफ्नो विद्यालय, समाज हुँदै गाउँपालिका र देशको नाम समेत उजागर गर्न सक्ने उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले आगामी दिनमा प्रदेश र संघीय स्तरमा समेत पदक जित्ने विश्वास व्यक्त गरे।
रैनादेवी छहरा गाउँपालिकाले हरेक वर्ष आयोजना गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय तहमा लुकेका खेल प्रतिभा पहिचान गर्न, विद्यार्थीमा अनुशासन र प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयवासीहरूको भनाइ छ।















