बुटवल । रूपन्देहीको कञ्चन गाउँपालिका रुद्रपुरका १७ वर्षीय ईशान शर्मा पौडेलको शंकास्पद मृत्यु भएको भन्दै परिवारले सत्यतथ्य घटना बाहिर ल्याउन माग गरेका छन् । ईशानका परिबारले ईशानको मृत्यु कुनै पनि दुर्घटनाबाट नभई कसैले हत्या गरेर भएको भन्दै सत्यतथ्य छानविन गरेर दोषिलाई कारबाही गर्न माग गरेको हो ।
पुस २ गते विद्यालयमा तेकान्दो सिकाएर घर आएका उनी साँझ साढे ५ बजे साथीसँग जीम जाने भन्दै घरबाट थकालीचोक तिर गएका थिए । त्यसपछि साँझ करिव साढे ७ बजे ईशान रुद्रपुरकै सुनगाभा चोकबाट साथीसँग विदा भएर हातमा जुत्ता लिएर घरतर्फ हिँडेको सिसिटीभिमा देखिएको छ ।



सोही दिन घर नआएका ईशानलाई परिवारले साथीकोमा बसेको भन्दै खोजविन गरेन । अर्को दिन भने विद्यालयमा समेत इशान नगएपछि परिवारले ईशासनको खोजी सुरु गरेको थियो । इशानका ठुलो बुवा पुष्पराज शर्माले पनि अर्को दिन मात्र ईलाका प्रहरी कार्यालय रुद्रपुरमा ‘बालक हराएको’ सूचना दिन पुगेको बेला मात्र इशानको शव भेटिएको खवर पाएको बताए ।मृतक इशानका बुवा अर्जुन शर्माले ईशानको मृत्यु गाडीको ठक्करबाट नभई सुनियोजित रुपमा गरिएको हत्या गरिएको बताए । उनले वास्तविक दोषीलाई उन्मुक्ति दिन नक्कली (डमी) दोषी खडा गरिएको समेत बताए ।
‘देव्रे खुट्टा भाचिएको छ । बाहिर रगतका थोपा केही छैन । दुर्घटनास्थलमा ब्रेक लागेको संकेत छैन । धुलो माडिएको छैन । हिलो घसारिएको छैन । एक्कासी टिपेर लगेर राखिएको जस्तो छ । टाउँको गम्भिर चोट, आखामा चोट छ । दुर्घटनामा यस्तो हुँदैन । आँखाको नानीमा लक्षित गरेर प्रहार गरिएको छ’ उनले भने । उनले यस घटना हत्या नै हो भन्ने प्रसस्त कारणहरु समेत रहेको बताए ।
‘हातमा जुत्ता समाएर दौडिएको अन्तिम फुटेजमा देखिएको छ । हातमा समाएको जुत्ता पोलको फेदमा समालेर राखिएको अवस्थामा भेटिएको थियो । खुट्टमा लगाइएको जुत्ता छरिएको अवस्थामा भेटियो । मोबाईल त्यो दिन खोज्दा भेटिएन । तर अर्को दिन साढे ११ बजे अम्बाको बोट मुनि मोबाईल भेटियो । यी हरेक कुराले हत्यालाई लुकाउन नक्कली दोषी ‘डमी’ तयार गरिएको हो’ उनले भने ।
उनले ईशानको हत्या पछि परिबार र समाज नै शसंकित भएको भन्दै आफू न्यायका लागि लडेको बताए । ‘समाज र मेरो मनले छुने प्रमाण सहितको न्यायको आशामा छु । इशान फर्केर आउँदैन । अरु ईशान नमरुन । त्यो हत्यारा हावी भएर भोली शक्तिका साथ अरुलाई मार्ने आट नगरोस’ उनले भने । उनले ईशानको सक्कली हत्यारा पत्ता लगाएर सार्वजनिक गर्न माग गरे । ‘सक्कली हत्यारा पत्ता लागोस । अब आउने दिनमा अर्को इशान शर्मा समाजमा नमरोस’ उनले भने ।
ईशानकी आमा रमा शर्माले आफ्नो बुढेशकालको साहारा लठ्ठी भाचिएको भन्दै ईशानलाई न्याय दिन माग गरिन । ‘न्याय नपाएकी आमा हुँ म । मेरो कोख रित्तियो । मेरो बुढेशकालको साहारा मेरो लठ्ठी भािचयो । मेरो इशान गयो । यहाँ भएका लाखौ इशान मर्न भएन’ उनले भनिन् । उनले घटनाको सत्यतथ्य छानविन र दोषिलाई कारबाहीको माग गरिन् ।
प्रहरीका अनुसार ईशान बुधबार साँझ ८ बजेदेखि सम्पर्कविहीन थिए । उनको शव घरभन्दा डेढ सय मिटर टाढा नालीमा भेटिएको थियो । उनको टाउकोको पछाडि भागमा चोट थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सुरज कार्कीले ईशानको दुर्घटनामा मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको भन्दै आफुहरु अझै अनुसन्धानमै रहेको बताए । ईशानको कुनै व्यक्तिबाट हत्या भएको नभई लु २ ख ४९४८ नम्बरको फोर्स गाडीले ठक्कर दिई मृत्यु भएको प्रारम्भिक प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको थियो ।
फोर्स चालकलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । ‘दुर्घटना गराएको चालकले स्वीकार गरेको छ । दुर्घटना भए पश्चात भागौ भनेर उक्साउनेलाई समेत हामीले नियन्त्रणमा लिएका छौ ।’ उनले भने ।घटनास्थल वरपरका सिसिटिभी फुटेज संकलन गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।














